११ भदौ, काठमाडौं । एकीकृत समाजवादीभित्रको अन्तरसंघर्ष चुनावी प्रतिस्पर्धासम्म पुगेको छ । मंगलबार पदाधिकारी र पोलिटब्यूरो सदस्यका लागि भएको मतदानमा गुटगत प्रतिस्पर्धा भएको हो ।

वरिष्ठ उपाध्यक्षसहित १८ पदका निम्ति मनोनयन दर्ता गर्दा प्रस्ट गुटगत उम्मेदवारी देखिएको थियो ।

तर वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत भए । घनेन्द्र बस्नेतलाई उम्मेदवारी फिर्ता लिन सहमत गराएर पाण्डेलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष बनाइएको थियो । स्रोतका अनुसार बस्नेतलाई वरिष्ठ नेताको आश्वासन दिइएको छ । ‘प्रमेश हमाल, घनेन्द्र बस्नेत र बेदुराम भुसाल लगायतलाई वरिष्ठ नेता बनाउने आश्वासन दिइएको छ’, ती स्रोत भन्छन् ।

एकीकृत समाजवादीको विधानमा २१ जना पदाधिकारी बाहेक वरिष्ठ नेताहरु समेत राख्न सकिने व्यवस्था छ । त्यही व्यवस्था बमोजिम वरिष्ठ नेता बनाउने आश्वासन बस्नेतलाई दिइएको छ ।