बितियाको घर पनि हेर्दाहेर्दै खरानी भयो । र, घरसँगै उनको सपना पनि !

‘श्रीमान घर आएको पाँच दिनमात्रै भएको थियो । त्यत्रो मिहिनेत गरेर जोहो गरेको सम्पत्ति सबै खरानी भयो’, बितिया भन्छिन्, ‘मान्छे मात्रै बाँकी भयौं । पाँच जनाको परिवार पाल्नै नसक्ने भएपछि आँसु पुछेर फेरि साउदी जानुभयो ।’

बालदेव बोर्डिङमा कक्षा ६ मा पढिरहेको छोरा सुजनलाई निकालेर सरकारी स्कुल रत्ना माविमा भर्ना गर्न बाध्य भइन् उनी । ‘छोरोलाई सानैदेखि बोर्डिङ स्कुलमा पढाइरहेका थियौं । महिनाको चार हजार फिस तिरेर ६ कक्षासम्म पुर्‍याएका थियौं,’ बितिया भन्छिन्, ‘घर जलेपछि फिस तिर्न नसकेपछि बोर्डिङबाट निकाल्यौं ।’